शैलेन्द्र प्रसाद हरिजन (अम्बेडकर)
स्वाधीनता आन्दोलनको फलस्वरुप १५ अगस्ट १९४७ मा अंग्रेजहरुको गुलामीबाट मुक्त भई “स्वतन्त्र भारत”को रुपमा उदय भयो । हिन्दूबाहुल्य भारत र मुस्लिम बाहुल्य पाकिस्तान भारतबाट विभाजित भई स्वतन्त्र देशमा रुपमा स्थापित भयो ।
भारतको विभाजनकै क्रममा बङ्गाल पनि दुई भागमा विभाजित भयो । हिन्दू बाहुल्य क्षेत्र भारत र मुस्लिम वाहुल्य क्षेत्र (पूर्वी बङगाल) समेत पाकिस्तानमा गाभियो । पाकिस्तानमा गाभिएको मुस्लिम क्षेत्र अर्थात् पूर्वी बङगाललाई पाकिस्तान सरकारले सन १९५५ मा पूर्वी पकिस्तान नामाकरण गरयो । पाकिस्तान मूलतः धर्ममा आधारित विभाजनबाट निर्माण भएको थियो ।
पूर्वी एवं पश्चिमी पाकिस्तानबीच सामाजिक, आर्थिक एवं शैक्षिक असमानता व्याप्त थियो । स्रोत र संसाधनको हिसावले पूर्वी पाकिस्तान (हालको बङगलादेश) बढि समद्ध थियो । १६ औं शताब्दीमा बङ्गाल एशियाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा चिनिन्थ्यो । विश्व बजारमा बङगालको प्राकृतिक स्रोत र व्यापार चर्चामा रहे पनि राजनीतिक रुपले पश्चिमी पाकिस्तान हावी थियो । राज्यका हरेक निकायमा पश्चिमी पाकिस्तानका मान्छेहरु हावी थिए । सेना, आर्मीलगायतका सुरक्षा निकायहरुमा ९० प्रतिशतभन्दा बढि पश्चिमी पाकिस्तानीहरु थिए । बाँकी ४ प्रतिशत अन्य क्षेत्रका थिए जुन पियन, चपरासी, सुचिकार, दर्जीलयायतका पदहरुमा थिए । यसरी पश्चिमी पाकिस्तानीहरुको पूर्वी पाकिस्तानमा दबदबा थियो । र, यसले पूर्वी पाकिस्तानीहरुमा असन्तोष बढाइरहेको थियो ।
पाकिस्तान र्निमाणको समयमा पश्चिमी क्षेत्रमा सिंधी, पठान, बलोच र मुजाहिरको सङख्या उल्लख्य थियो । जबकि पूर्वी भागमा बङगाली बोल्नेहरुको बहुमत थियो र राजनीतिक चेतनाको स्तर पनि राम्रो थियो । तर पूर्वी हिस्सा देशको सत्तामा कहिले पनि पुग्न सकेन । पुगेकाहरु पनि सेरेमोनियल भए ।
२१ मार्च, १९४८ को दिन पाकिस्तानका पहिलो गभर्नर जनरल जिन्ना ढाकाको रेसकोर्स मैदानमा एक सार्वजनिक सभालाई सम्बोधन गर्दै कठोरताको साथ “पाकिस्तानको राष्ट्र भाषा ऊर्दू रहने र योभन्दा फरक सोच राख्ने जो कोही पनि मुसलमानका लागि बनेको पाकिस्तानको सत्रु समान हुनेछ” भन्ने घोषणा गरेका थिए ।
ऊर्दू भाषालाई राष्ट्र भाषाको रुपमा पश्चिमी पाकिस्तानीहरुले समर्थन त गरे तर पूर्वी पाकिस्तानी (हालको बङ्गलादेश)का लागि ऊर्दू भाषा कहिले पनि नसुनेको र नबोलेको पराया भाषा थियो । ऊर्दू भाषाको पूर्वी पाकिस्तानमा पहिलादेखिनै व्यापक विरोध थियो । जिन्नाको घोषणाले आगोमा घिउ थप्ने काम गरयो । कूल जनसङख्याको ५६ प्रतिशत बङगाली भाषिहरुले ऊर्दू भाषा बराबरको दर्जा बङगाली भाषालाई दिनु पर्ने माग गरे पनि उनीहरुको मागको सुनुवाइ भएन । यस विरुद्ध बङ्गाली भाषिहरु आन्दोलित भए।
२१ फरवरी, १९५२ का दिन ढाका विश्वविद्यालयका विद्यार्थीहरुले पूर्वी पाकिस्तान (बङगलदेश)मा आम हडतालको घोषणा सहित व्यापक प्रदर्शन गरे । पाकिस्तान सरकारले प्रदर्शनलाई रोक्नका लागि धारा १४४ अन्तर्गत कफर््यू आदेश जारी गरयो । शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले अन्धाधुन्द गोली चलाउँदा अब्दुल सलाम, रफीकुद्दीन अहमद, अब्दुल बरकत र अब्दुल जब्बारलगायतका विद्यार्थी नेताहरुको ज्यान गयो । बङगलादेशको इतिहासमा यो दिनलाई आज पनि “अमर इक्कीस” को नामले प्रत्येक वर्ष २१ फरवरीका दिन मिनार (समाधी स्थल) मा श्रद्धाञ्जली सभाको आयोजना गरिन्छ । बङगालीहरु यो घटनाको विरुद्ध अमर इक्कीसको दिन आजपनि कालो र सेतो रङगका कपडाहरु लगाई राष्ट्रिय पर्वको रुपमा मनाउँछन्।
ढाका आन्दोलनमा विद्यार्थीहरुको हत्या पछि बङगालका जनताहरु झन आक्रोशित भए । दिन प्रतिदिन बङगालका जनताहरुमा आक्रोश बढिरहेको सन्दर्भमा बङगालका नेता शेख मुजीबउर रहमानले पाकिस्तानमै स्वायत्तताको माग गर्दै आन्दोलनलाई अगाडि बढाए । सन् १९७० मा भएको निर्वाचनमा शेखको पार्टीले जर्वजस्त तरिकाले बिजय हासिल ग¥यो । तर, उनलाई प्रधानमन्त्री बनाउनुको सट्टा पाकिस्तान सरकारले जेल हाली अमानवीय तरिकाले यातना दिन थाल्यो । उनले जेलबाटै बङ्गलादेश आजादका लागि आब्हान गरिरहे ।
सन १९७१ मा पाकिस्तानका राष्ट्रपति जनरल याहाया खानले पूर्वी पाकिस्तानमा फैलिएको असन्तोष तथा आक्रोशलाई निस्तेज पार्न जनरल टिक्का खानलाई जिम्मेवारी दिए । उनले पूर्वी पाकिस्तानका जनताहरुलाई बल प्रयोग गरी शान्त गर्ने प्रयास गरे जसले गर्दा स्थिती पूर्ण रुपमा नियन्त्रण बाहिर गयो । पाकिस्तानी प्रहरीले ब्यापक जनदमन गर्न थाल्यो फलस्वरुप सम्पूर्ण बङगलाहरु आजादी आन्दोलनमा होमिए ।
२५ मार्च १९७१ का दिन पाकिस्तानी सेना र प्रहरीले शुरु गरेको “अप्रेशन सर्च लाइट”मा ३० लाख बङगालीहरु मारिए । पाकिस्तान सरकारको “हमूदुर रहमान आयोग”ले २६ हजार आम जनता मारिएको प्रतिवेदन दिएको थियो । यसरी सेना र प्रहरीको अगुवाइमा क्रुर तरिकाले नरसंहार गरिए पछि पाकिस्तानी सेना र प्रहरीमा रहेका पूर्वी पाकिस्तानीहरु विद्रोह गरी पाकिस्तानी सेना र प्रहरी विरुद्ध लड्नका लागि “मुक्ति वाहिनी” नामक सङ्गठन बनाइ पाकीस्तान विरुद्ध छापामार तथा गुरिल्ला युद्ध छेंडे ।
पाकिस्तानी फौजद्धारा निरपराध र हतियार विहीनहरुमाथि अत्याचार जारी रह्यो । बङगलाहरु ज्यान जोगाउन भारततर्फ पलायन हुन थाले । लाखौ महिलाहरु माथि बलत्कार, अत्याचार र हत्या गरियो । वालवालिकाको आपाहरण, वेपत्ता तथा हत्या गरियो । सैनिक क्याम्पमा महिलाहरुलाई सेक्स वर्करको रुपमा राखियो र सामूहिक बलात्कार गरियो । यसका लागि पाकिस्तानी सेनाले ५६३ बङगाली महिलाहरुलाई क्याम्प इलाकामा राखिएको थियो । पाकिस्तानी सेना तथा प्रहरीको अत्याचारबट त्राहीमान भई करिव १० लाख महिलाहरु विस्थापित भएर भारतमा गएर शरणार्थी बने भने ८० लाख अरु बङगालीहरु भारतमा शरणार्थी बन्नका लागि प्रवेश गरे ।
करोडौंको संख्यामा बङगालीहरु भारत प्रवेश गरेपछि भारतमाथि आर्थिक दबाब पर्न गयो र २७ मार्च १९७१ का दिन भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गांधीको सरकारले पूर्वी पाकिस्तान (हालको बङगलादेश)मा बङगालीहरुले गरिरहेको स्वन्तत्रता अन्दोलनलाई आफ्नो सरकारको पूर्ण समर्थन रहेको उद्घोष गरयो । त्यतिमात्र होइन भारतले पाकिस्तान विरुद्ध छापामार तथा गुरिल्ला युद्ध गरिरहेको “मुक्ति वाहिनी”लाई शरण दिने, प्रशिक्षण दिने लगायतको सहयोग गर्न थाल्यो ।
भारतले बङगाललाई समर्थन तथा सहयोग गर्ने थाले पछि ३ डिसेम्बर १९७१ को दिन पाकिस्तानले भारत माथि आक्रमण गरेपछि भारत र पाकिस्तानबीच भिषण युद्धको सुरुवात भयो । १४ दिन सम्म चलेको लगातारको युद्ध पछि अमेरिकी सहयोग प्राप्त पाकिस्तान १६ डिसेम्बर १९७१ का दिन भारतीय सेना समक्ष आत्मसमर्पण गर्न बाध्य भयो । लगभग ९३ हजार पाकिस्तानी सेना, प्रहरीलगायातकालाई भारतले युद्ध बन्दी बनाएर भारतका विभिन्न क्याम्पहरुमा राखिएको थियो ताकि उनीहरु बङगालीको क्रोधको सिकार नबनुन् । यसरी पूर्वी पाकिस्तान पाकिस्तानको नक्साबाट अलग भई विश्व मानचित्रमा एक छुट्टै स्वतन्त्र बङगलादेशको उदय भयो । र बङ्गलादेश आजादीको प्रथम बिगुल फुक्ने नेता “शेख मुजीबुउर रहमान” बङ्गलादेशको प्रथम प्रधानमन्त्री बने ।
यहाँ दुई महत्वपूर्ण छन्, पहिलो पाकिस्तानबाट बङगलादेश अलग हुनुको कारण र अर्को लाखौं बङगालीहरुको हत्या र नरसंहार । तत्कालीन पाकिस्तान सरकारले बङगाली भाषालाई पनि ऊर्दू भाषा सरह स्वीकार्य गरी राज्यको हरेक निकायमा समानुपातिक समावेशीताको आधारमा बङगालीहरुलाई पनि सहभागिता गराएको भए पाकिस्तानले बङगलादेश गुमाउनु पर्ने थिएन । जनताको मागलाई बेवास्ता गरी बन्दुकको आडमा आन्दोलनलाई दबाउन खोजेकै कारण बङगालीहरु “आजादी” आन्दोलनमा होमिए फलस्वरुप बङगलादेश आजाद भई एक स्वतन्त्र देशको रुपमा उदय भयो ।
तत्कालीन आन्दोलनरत पक्षले शून्य क्षतिमा आन्दोलन सफल बनाउने रणनीति अपनाएको भए सायद ३० लाख बङगालीहरुको रगत बग्ने थिएन । रगतको भेलले बनेको बङगलादेशमा आज अमनचयन, कानुनको शासन र विकासका कारण विश्व मानचित्रमा समुन्नत मुलुकको रुपमा प्रस्तुत हुनु पर्ने हो तर त्यसो हुन सकिरहेको छैन । तसर्थ जुनसुकै देशमा हुने विवाद तथा आन्दोलनलाई आन्दोलनरत पक्ष र सरकार दुबै पक्ष गम्भीर भई शुन्य क्षतिमा वार्ता तथा सहमतिको आधारमा विवाद तथा समस्याहरुलाई समाधान गर्नु उचित तथा जरुरी देखिन्छ ।