NEPAL: धर्ममाथिको प्रश्न

रक्षाराम हरिजन

पृष्ठभूमि:

देशका अधिकांश ठाउँमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाएका समाचारहरू प्रशस्तै आउँछन् । मन्दिरमा पूजा गर्न गएका दलित गैरदलितबाट कुटिनु, मन्दिर प्रवेश गर्न नदिनु, दलितले अरूहरूमार्फत फूल प्रसाद चढाउनु र दलितले मन्दिर निर्माणमा चन्दा दिए पनि पूजा गर्न नपाउनु जस्ता घटनाहरूबाट हामी अभ्यस्त भइसकेका छौं ।

तर, पछिल्लो समय केही परिवर्तनहरू पनि देखिन थालेका छन् । केही समयअघि गुल्मीको चारपाला दरवारको ईश्वरी देवी मन्दिरमा आफूलाई काली माता उत्रेको भन्दै एक दलित युवती प्रवेश गरी पूजा गरिन् । उनलाई काली माता उत्रेको भन्ने विश्वास गरिएकाले कसैले विरोध गरेन। त्यस्तै केही वर्षअघि रौतहटको पिपरिया दोस्तियास्थित ब्रम्हस्थान र भगवती मंन्दिरमा गैरदलित समुदायको अवरोधका कारण मन्दिर प्रवेश गर्न नपाएका दलितहरू आजभोलि सहजै पूजाआजा गर्न पाउँछन् ।

लोक सेवा आयोगद्वारा पूजारी नियुक्ति

हालै भारतको दक्षिणी राज्य केरलामा सदियौंदेखिको परम्परालाई तोड्दै दलित समुदायका विजुनारायणनलाई पुजारी नियुक्त गरियो । त्रावणकोर देवश्वम् बोर्डले पहिलो पटक आरक्षणको आधारमा ३६ गैरदलितसहित ६२ पूजारी नियुक्ति ग¥यो । अछुतको दर्जामा राखिएका दलित पूजारी छानिँदा त्यसको विरोध हुनु स्वाभाविक हो ।

तर, नारायणन् कसैको दया मायाले पूजारी पदमा नियुक्त भएका होइनन् । लोक सेवा आयोगको लिखित र मौखिक परीक्षामा उत्तीर्ण भएपछि उनी पुजारीको रुपमा छानिएका थिए । यस पटक देवश्वाम् बोर्डद्वारा सञ्चालित केरला राज्यको सवरीमाला स्थित मशहुर अयप्पा मन्दिरले करिब एक हजार पाँच सय चारमन्दिरहरूमा आरक्षण नीतिको आधारमा पूजारी नियुक्त गर्ने ऐतिहासिक निर्णय गरेको थियो । सोही निर्णयको प्रभाव हो नारायणनको पुजारी नियुक्ति । भारतमा नीतिगत रूपमा आरक्षणको व्यवस्था गरी लोक सेवामार्फत् प्रतिस्पर्धा गराई पूजारीमा नियुक्ति गर्ने कार्य विश्वकै लागि उदाहरणीय नमुना हो ।

नेपालमा दलित पूजारी

नेपालमा गैरब्राह्मणहरू पनि केही मन्दिरहरूमा पूजारी रहेका छन् । केही स्थानमा दलित र दलित महिलाहरू समेत पूजारी भई पूजा पाठ गराउँदै आएका छन् । तर, यस्ता उदाहरण औँलामा गन्ती गर्न सक्ने संख्यामा मात्रै छन् ।

प्युठानको रजेनामा रहेको ‘ब्रम्हा हस्तनिशेल गौतम देवालय’मा दलित पूजारीहरूले पूजा गर्छन र बाहिर ब्राम्हण क्षेत्री, मगरलगायतका अन्य समुदायहरू भक्तजनको रुपमा प्रसाद र आर्शिवाद ग्रहण गर्छन् ।

बाराको गढी गाउँपालिको गढीमाई मन्दिरमा अकलु पासवान र उनकी पत्नी रुक्मीणी पाँच वर्षदेखि पूजारी छन् । त्यस्तै सिरहाको बडहरामालाकी हरिमाया विश्वकर्मा स्थानीय शिवमन्दिरको पूजारी हुन् । दलित र एकल महिलाहरूमाथि भइरहेको विभेद र छोइछिटोको भ्रमलाई व्यवहारमै तोड्न दलित महिलालाई पूजारी बनाएको स्थानीयको दावी छ । विश्वकर्मा पुजारी हुँदा सुरुमा गैर दलितहरूले साङ्केतिक विरोध गरेका थिए । हाल हरिमायासँगै स्थानीय एकल महिला गोपी कार्की मन्दिरमा पुजारी छन् ।

दाङ घोराहीको ‘नागेश्वर महादेव पार्वती मन्दिर’को मुख्य पूजारी पार्वती विश्वकर्मा हुन् । उनमा ईश्वरीय शक्ति भएको भन्दै स्थानीयले उनलाई पूजारी बनाए । कथित ‘उपल्ला’जातका मानिसले खुट्टा ढोग्दा पार्वती उनीहरूको शिरमा हात राखेर आशीर्वाद दिइरहेकी हुन्छिन् । त्यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका अन्र्तगतको एक देवालयमा वीरबहादुर र तेजबहादुर विश्वकर्मा लगायत ६ जनाको समूहले पूजारीको रूपमा काम गर्छन् ।

मन्दिरमा अझै विभेद

एक दुई ठाउँमा दलित पूजारी हुँदैमा परिवर्तन हुन होइन । यसले सकारात्मक शन्देश दिन्छ नै । तर, वास्तविकता भने बेग्लै छ । अझै पनि नेपालका अधिकांश मन्दिरहरूमा दलितहरूलाई प्रवेश निषेध छ ।

गत असारमा सप्तरीको बोदेबर्साइनमा ग्राम डिहवार थान मन्दिरमा पूजा गर्न गएका लिलाधर दास तत्मा र उनकी पत्नी दुखनीदेवी दास तत्मालाई गाउँलेहरूले कुटपिट गरे । त्यस्तै गत माघमा रामेछापको बेतालीमा एक दलितले मन्दिरमा पूजा गरेको भन्दै ५ हजार जरिवाना तिराए ।

२०७३ साउनमा रूपन्देहीबाट पूजा गर्न प्यूठान पुगेका एक दलित परिवारलाई गैरदलितले कुटपिट गरी फर्काए । प्युठान जिल्लाको स्वर्गद्धारी मन्दिरमा पूजाका लागि पुगेका रूपन्देहीको कम्हरियाका राम अचल हरिजनको परिवारलाई कुटपिट गरिएको थियो । जेष्ठ २०७४ मा भदौरे तामागी १, कास्की स्थित देउराली देवी मन्दिरमा चण्डी पुर्णिमाका दिन पूजा गर्न पुगेका ६० घरधुरी दलितलाई तिमिहरू दलित हौ भन्दै पूजारी देवीप्रसाद पौडेलले मन्दिर प्रवेश गर्न दिएनन्।

आज पनि बाराको कलैया उपमहानगरपालिका १८ मोतिसरस्थित शंकर मन्दिरमा दलितलाई प्रवेश निषेध छ । तर, मन्दिर मर्मतको लागि दलित समुदायले पैसा भने तिर्नुपर्छ ।

राज्य र पुजारी

नेपालमा पनि कानुन वा नीतिगत रूपमा दलित समुदायलाई मन्दिरमा पूजारी बनाउने कुनै स्पष्ट व्यवस्था वा प्रावधान पाइदैन । पिछडिएको समुदायलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हकको प्रावधान हाम्रो संविधानले सुनिश्चितता गरेको छ । त्यसैले राष्ट्रियकरण गरिएको तथा राज्यको स्वामित्वमा रहेको मन्दिरहरूमा नियुक्त गरिने पूजारीहरूमा समेत सबै समुदायलाई आरक्षण गर्नुपर्छ । खस–आर्यलाई मात्रै पूजारी नियुक्त गरी खस–आर्यलाई विशेषाधिकार दिन मिल्दैन ।

नेपालमा पनि संविधानले समानता र समाजिक न्यायको कल्पना गरेको छ । संविधानमा राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, जात, जाति वा यस्तै अन्य कुनै आधारमा भेदभाव नगर्ने र सार्वजनिक सेवामा पहूँच बढाउन दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको व्यवस्था गरेको छ । मन्दिरमा पूजारी नियुक्ति गर्दा दलित समुदाय लगायतका अन्य समुदायबाट समेत नियुक्त गर्न स्पष्ट नीति तथा संयन्त्र बनाउनु जरुरी छ । तर, यहाँको शासन सत्ताको नीति एकातिर र नियति अर्का रहेको देखिन्छ ।

धर्ममाथिको प्रश्न

हिन्दू धर्ममा वर्ण व्यवस्था, जातीप्रथा, छुतअछुत, विभेद, उचनिचको भावना, कथित ब्राहमणवाद लगायतका कुप्रथा, रुढीवादी परम्परा र रीतिरिवाज विद्यमान रहेको देखिन्छ । म ब्राह्मण हो, म क्षेत्री हो, म राजपुत हो जस्ता खोक्रो रवाफ शिक्षित भन्नेहरूमा छर्लङ्ग देखिने गरेको छ ।

हिन्दूधर्मलाई ब्राहमण धर्म बनाएको पाइन्छ । तर, यसविरुद्ध पनि ब्राह्मणहरूबाटै विरोधका श्वरहरू उठ्न थालेका छन् । जागरुक तथा शिक्षित गैरब्राह्मण समुदायको व्यक्तिहरूले हिन्दूधर्म किन मान्ने ? आफु अपहेलित हुने धर्म किन मान्ने ? आफु प्रवेश गर्न नपाउने मन्दिरको देवी देउताको पूजा किन गर्ने ? अछुत बनाएको परम्परालाई किन अगाँल्ने ? यी र यस्तै प्रश्नहरूको उत्तर खोज्न थालेका छन् । हिन्दू धर्मलाई अझै अमानवीय बनाउँदै लैजाने कि अव यसमाथि पनि प्रश्न गर्ने भन्ने आजको मुख्य बहस हो ।

Document Type : Article
Document ID : AHRC-ART-050-2017
Countries : Nepal,
Issues : Caste-based discrimination, Freedom of religion,